काठमाडौं– सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा गोलाप्रथामार्फत कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीको सेयरमा २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएको छ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ७ करोड ३० लाख बराबर रुपैयाँको ७ लाख ३० हजार कित्ता सेयरमध्य २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो।
स्वीकृत आवेदनमध्ये भाग्यमानी ६७ हजार ८९० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
सर्वसाधारणलाई आईपीओ जारी गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई ५ करोड रुपैयाँबराबरको ५ लाख कित्ता सेयर वितरण गरिसकेको छ।
कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखि नै व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।