काठमाडौं- सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गरेको छ।
आइतबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
कोभिड-१९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपाय अपनाइ सेयरधनीहरुको उपस्थितिमा साधारणसभा सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ। साधारणसभामा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो।
उक्त साधारणसभाबाट संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा. केशवप्रसाद आचार्यलाई सर्वसम्मत रुपमा चयन गरेको छ। पौडेल र थापा पुन: सञ्चालक समितिमा निर्वाचित भएका हुन्।
गत आव २०७७/७८ मा दुई खर्ब ३२ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमाको कूल सम्पत्ति १६०.७५ अर्ब, कूल निक्षेप १३०.८८ अर्ब तथा खुद कर्जा सापटी १२३.१७ अर्ब रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कूल सम्पत्तिमा क्रमश: १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।