काठमाडौं– निर्देशक आचार्य गोपालको निर्देशनमा बनेको लघु चलचित्र आखत जर्मनीको प्रतिष्ठित फिल्म फेस्टिभल ‘फिल्मस्कुल फेस्ट म्युनिक’मा प्रदर्शन हुने भएको छ।
फेस्टिभलमा २६ देशबाट प्राप्त भएर प्रदर्शनका लागि छनोट भएका ४६ चलचित्रहरुमा गोपालको निर्देशनमा बनेको आखतले पनि ठाउँ पाएको हो।
४०औं वार्षिक उत्सव मनाइरहेको ‘फिल्मस्कुल फेस्ट म्युनिक’ यो वर्ष नोबेम्बर १४ बाट सुरु हुँदै छ।
प्युठानमा छायांकन भएको फिल्म ‘आखत’मा पहाडी भेगमा बसोबास गर्ने एक किसानको कथालाई देखाइएको छ। बाल्यकालदेखि नै बिरामी र पीडाले ग्रसित गाउँलेहरुको उपचार गर्दै आएको एक किसानको अचानक एकदिन सबै शक्तिले काम गर्न छाड्छ। न उसको मन्त्रले काम गर्छ, न भालेको बलिको नै कुनै प्रभाव हुन्छ। आखतमा त्यही किसानको कथा देखाइएको छ, जो आफ्नो जीवनको अन्त्यको सामना गरिरहेको छ।
फिल्ममा नरबहादुर गाहा मगर, मेमबहादुर गाहा मगर र गणेश गाहा मगरको अभिनय रहेको छ। गोपालकै लेखन रहेको फिल्मलाई कार्यकारी रुपमा प्रेम प्रसाद अधिकारीले निर्माण गरेका हुन् भने यसलाई डा. रविना रसाइली, शंखर धिताल र आचार्य गोपालले संयुक्त रुपमा निर्माण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।