काठमाडौं- छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आज स्वदेश फर्किएका छन्।
कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न डाइलगमा सहभागी हुन मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल कात्तिक ७ गते दुबई प्रस्थान गरेका थिए। मन्त्री श्रेष्ठले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए।
श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि आयोजित‘आबुधाबी डायलग’मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा मन्त्री श्रेष्ठले सम्बोधन गरेका थिए।
मन्त्री श्रेष्ठले कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निशुल्क खान-बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा नि:शुल्क पीसीआर परीक्षण, नि:शुल्क क्वारेन्टिन तथा आइसोलेसन सेन्टरको व्यवस्था र नि:शुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका थिए।
यूएई भ्रमणका क्रममा मन्त्री श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता भयो। सो क्रममा नेपाल-यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई जाने नेपाली कामदार लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इञ्जिनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो।
बैठकमा सहभागी नेपाली टोलीले आबुधाबीमा अन्य कूटनीतिक भेटघाटसमेत गर्यो। नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीहरुसँग छुट्टा-छुट्टै भेटवार्ता गरे।
मन्त्री श्रेष्ठले आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रियासमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।