काठमाडौं- आनी (बौद्ध भिक्षुणी)हरुलाई सामाजिक गतिविधिमा सहभागी गराउने उद्देश्यका साथ राजधानीको स्वयम्भूमा दुई दिने गोष्ठी सुरु भएको छ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले उक्त गोष्ठी आयोजना गरेको हो। शनिबार समितिका अध्यक्ष खेन्पो गेशे थुप्तेन जिग्डोलले उद्घाटन गरेको समारोहमा आनीहरुले टासी मोन्लाम पाठ गरेका थिए।
विभिन्न गुम्बामा रहेका आनीहरुले आर्जन गरेको ज्ञानलाई गुम्बामा मात्र सीमित नराखी सर्वसाधारणमाझ पुर्याउने उद्देश्यका साथ गत वर्षदेखि यो कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले बताए। उनका अनुसार गत वर्ष नवलपरासीको दाउन्नेमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
शनिबारको कार्यक्रममा आचार्य मोहनकुमार तामाङले बौद्ध धर्म र महत्त्वको विषयमा आफ्नो विचार राखेका थिए।
दुई दिनसम्म चल्ने गोष्ठीको पहिलो दिन आचार्य नोर्बु शेर्पाले बौद्ध धर्ममा आनीहरुको भूमिका विषयमा प्रशिक्षण दिए। आइतबार पुण्यप्रसाद पराजुलीले नेपालमा बौद्ध धर्मको विकासक्रम, आनी छ्योइङ डोल्माले समाज सुधारमा आनीको भूमिका विषयमा प्रशिक्षण दिने छन्।
विभिन्न जिल्लाका ११ वटा गुम्बाबाट ६० जना आनीहरु कार्यक्रममा सहभागी रहेको समितिका कार्यकारी निर्देशक दोङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।