फाइल तस्बिर।
काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुका कारण संसदको एक सेकेन्ड पनि कुनै काम नरोकिएको दाबी गरेका छन्। शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै नेम्वाङले यस्तो बताएका हुन्।
‘हाम्रा कारणले संसद्को काम कारबाही रोकियो भन्ने प्रचार गरिँदैछ,’ उनले भने, ‘हाम्रो रहरले होइन, बाध्यता हो। हाम्रा कारणले कुनै काम एक सेकेन्ड पनि रोकिएको छैन।’
उनले सदनको नेता सभामुखले आफूहरुप्रति भेदभावपूर्ण व्यवहार गरेको उनले बताए। ‘आजभोलि कार्यव्यवस्था बस्दैन। बैठक बस्ने विषयमा कुनै छलफल हामीसँग हुँदैन,’ उनले भने, ‘सल्लाह छलफल नगरेर हठात रुपमा संसद् अधिवेशन अन्त्य गरियो।’
आफूहरुका कारणले कुनै पनि काम नरोकिएको बताएका उनले आफूहरुको अवरोधकै बीच काम अघि बढाउन खोजिएको बताए। सर्वोच्च अदालतबाट संसद् पुनःस्थापित भइसकेपछि संसद्ले सिन्कोसमेत भाँच्न नसकेको उनको टिप्पणी छ।
‘संसद् सरकारको बिजनेसले चल्छ। सरकारले दिँदा चल्छ दिएन भने चल्दैन,’ उनले भने, ‘तर, अहिले सरकारले बिजनेस नै दिन सकेको देखिँदैन।’
एमालेलाई विभाजन गर्नका लागि नै योजनाबद्ध रुपमा काम भएको उनको भनाइ छ।
‘हामीले अवरोध गरेका हौं तर हाम्रा कारणले केही रोकिएको छैन,’ उनले भने, ‘हाम्रा कारणले रोकिएको भए त बजेट कसरी पास भयो त्यो विषय पनि हेर्नुपर्छ।’
यो बीचमा सरकारले कुनै पनि काम गर्नका लागि प्रक्रिया अघि नबढाएको भन्दै सरकार र संसद् दुवैले कुनै काम गर्न नसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।