काठमाडौं– बिहीबार आफूलाई भेट्न आएका केही कानुन व्यवसायीसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको आन्दोलन मथ्थर हुने दाबी गरेका थिए। शुक्रबारदेखि त ‘आन्दोलनरत’ न्यायाधीशले पेसी नै हेर्ने दाबी पनि प्रधानन्यायाधीशको थियो। बिहीबार नै सर्वोच्चका केही ‘विद्रोही’ न्यायाधीशले जबरालाई भेटेको हल्ला समेत चल्यो।
सर्वोच्च अदालतका सबै न्यायाधीशहरु विपक्षमा उभिएपछि एक्लिएका प्रधानन्यायाधीश जबराले शुक्रबार ८ वटा पेसी तोके। बुधबार आफ्नो मात्र एकल इजलास तोकेर ५ थान मुद्दा नै सुनुवाइ गरेर अदालतमा सुनुवाइ भइरहेको सन्देश दिन खोजेका जबराले शुक्रबार संयुक्त इजलासमा पेसी तोेकेका थिए। जबराले आफू र उच्च अदालतबाट आफैंले सर्वोच्च ल्याएका कुमार चुडालको इजलास तोकेका थिए । जबराले आफूसँगको संयुक्त इजलासमा राखेपछि चुडाल सुनुवाइमा सहभागी हुने कतिपयको बुझाइ थियो। तर, चुडाल शुक्रबार पनि इजलासमा गएनन्।
मौन दल र उग्र जबरा
जबरालाई नेपाल बार एसोसिएशनले पदबाट राजीनामा दिनका लागि बुधबारसम्मको अल्टिमेटम दिएको छ। बारले यसअघि नै उनको राजीनामा मागेको थियो। तर, जबरा भने सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफू पदबाट नहट्ने बताइरहेका छन्। बरु उनले ‘अप्रत्यक्ष रुपमा’ आफूलाई महाअभियोग लगाउन भनेर चुनौती दिइरहेका छन्।
जबराले राजीनामा नदिए उनलाई पदबाट हटाउने एकमात्रै विकल्प हो-महाअभियोग। तर, उनी आफूविरुद्ध महाअभियोग दर्ता नहुनेमा ढुक्कजस्तै छन्।
सत्तापक्ष र प्रतिपक्ष, कुनै पनि दलले आफूविरुद्ध महाअभियोग दर्ता गर्न नसक्ने जबराको बुझाइ छ। राजनीतिक दलहरु पनि एक–अर्कालाई देखाएर जबराको विपक्षमा उभिन सकेका छैनन्। प्रमुख प्रतिपक्ष दल एमालेले त जबरा हट्ने हो भने प्रतिनिधि सभा विघटनको निर्णय उल्टाउने अरु ४ जना न्यायाधीश पनि हट्नुपर्ने भनेर बताउँदै आएको छ।
त्यसो त सत्तारुढ गठबन्धन पनि जबराको पक्षमा नै छ। सत्तापक्षीय दलका केही नेताहरुले जबराको विरुद्धमा ‘अनौपचारिक’ अभिव्यक्ति दिएपनि दलहरुले संस्थागत रुपमा छलफलसमेत गरेका छैनन्। बरु, सरकारले शुक्रबार मध्यरातदेखि लागू हुने गरी संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेर जबरालाई ‘सहयोग’ गरिदिएको छ।
‘सदन चालु भएको अवस्थामा प्रधानन्यायाधीशको भूमिका र न्यायपालिकामा अहिले देखिएको समस्याका विषयमा सांसदहरुले कुरा उठाउने सम्भावना थियो। तर, सरकारले दुवै सदनको अधिवेशन अन्त्य गरेपछि बहस हुने र प्रश्न उठ्ने सम्भावना नै रहेन,’ नेपाल बार एसोसिएशनका पूर्व पदाधिकारी समेत रहेका एक वरिष्ठ अधिवक्ता भन्छन्, ‘अहिलेको अवस्था हेर्दा प्रधानन्यायाधीशले सरकारबाट समेत सहयोग पाएका छन्।’
सत्ता पक्षीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। न्यायपालिकामा देखिएको विवादका विषयमा जनमोर्चाले मात्रै आफ्नो औपचारिक धारण सार्वजनिक गरेको छ। प्रधानन्यायाधीशमाथि छानबिन गरि दोषी देखिए महाअभियोग लगाउनुपर्ने जनमोर्चाको धारणा छ।
तर, सरकारमा रहेका गठबन्धनका ४ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले भने न्यायालयको विवादबारे कुनै पनि धारणा सार्वजनिक गरेका छैनन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीदिन अगाडि गृहजिल्ला चितवनमा प्रधानन्यायाधीशका विषयमा गठबन्धनकै तर्फबाट साझा धारणा आउने बताएका थिए। तर, उनले भनेको जस्तो गठबन्धनको साझा धारणा तत्काल आउने सम्भावना पनि छैन। किनकि गठबन्धनका नेता प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारदेखि विदेश यात्रामा छन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले सर्वोच्च अदालतमा अहिले देखिएको विवादका सन्दर्भमा दलहरुले ‘रहस्यमय’ मौनता साँधेको बताए। पूर्व न्यायाधीश प्रकाश बस्ती पनि देशको सर्वोच्च न्यायालय अनेक विवादको भूमरिमा फसिरहँदा दलहरु मौन बस्न नमिल्ने बताउँछन्।
‘सत्तापक्ष र प्रतिपक्ष दुवै मौन हुँदा जबराले आफूलाई सर्मथन दिएको सम्झेका छन्,’ सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले भने, ‘सत्ता पक्षसँग मन्त्री र केपी शर्मा ओलीसँग संवैधानिक निकायमा पद लिएका जबरालाई यस्तै सौदावाजीले अब पनि टिकिन्छ भन्ने हौसला मिलेको छ।’
पूर्वन्यायाधीश वस्ती भने दलहरुको मौनताले भयावह परिणाम ल्याउने बताउँछन्। ‘सर्वोच्चमा अहिले देखिएको विवादलाई दलहरुले हल्का रुपमा लिएका हुन् भने त्यो उनीहरुको भुल हुनेछ। यो विवादको अन्त्यसँगै यो संविधानको पनि बिदाइ हुने खतरा देखिँदैछ। यो खेल झन खतरानाक दिशामा अगाडि बढेको छ,’ वस्ती भन्छन्।
बरिष्ठ अधिवक्ता विपीन अधिकारी जबरालाई दलहरुले नै ‘ब्याकअप’ दिएको टिप्पणी गर्छन्। दलहरुसँगको अवैध साँठगाँठका कारण अहिलेको अवस्था आएको अधिकारीको भनाइ छ।
अदालत क्रमशः कमजोर हुँदै गएको उल्लेख गर्दै उनले दलहरुले यो विषयमा हात हाल्न बाध्य हुने अवस्था आएमा त्यसले अदालत र स्वयम् प्रधानन्यायाधीश जबरालाई निकै ठूलो क्षति गर्ने बताए। ‘अहिले प्रधानन्यायाधीश मात्र अलग भएमा थप ड्यामेज गर्दैन, नत्र ठूलो क्षति हुनसक्छ’, अधिकारीले भने, ‘जबराविरुद्धको विद्रोह अदालत, बार हुँदै सार्वजनिक रुमपा सुरु हुनसक्छ। यसले दलहरु र उनीप्रति झन् नकारात्मक अवस्था निम्त्याउँछ।’
जबरालाई एमालेको साथ छ?
प्रधानन्यायाधीश जबराले कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग भागबण्डाका लागि बार्गेनिङ गरेको, पेसी व्यवस्थापन नियत राखेको, आफू विपक्षी भएका मुद्दाको सुनुवाइ लम्ब्याएको आरोप लगाउँदै आइतबारको चिया ब्रेकपछि सर्वोच्चका १४ जना न्यायाधीश इजलास बहिस्कार गर्दै छुट्टै छलफल गरेका थिए। उक्त छलफल सोमबार पनि जारी रह्यो। मंगलबार १५ जना न्यायाधीशहरु जबरालाई भेट्न गए। भेटका क्रममा न्यायाधीशहरुले ‘सहज रुपमा निकास दिन’ भन्दै जबराको राजीनामा मागेका थिए।
जबाफमा जबराले राजीनामा नदिने मात्रै भनेनन्, दोस्रो पटकको संसद विघटनको मुद्दामा पुनःस्थापनाको फैसला सुनाउने संवैधानिक इजलासका अरु ४ जना न्यायाधीशका बारेमा पनि विवाद उठेको प्रसंग उप्काए। संसद पुनःस्थापना गर्ने संवैधानिक इजलासका न्यायाधीशका विषयमा पनि विवाद देखिएकाले अरुले राजीनामा दिने भए आफूले पनि सोच्न सकिने उनको भनाइ थियो।
मंगलबारै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राणाकै शैलीमा संसद् पुनःस्थापनाको फैसला सुनाउने अरु ४ जना न्यायाधीशले पनि पद छाड्नुपर्ने बताएका थिए।
मंगलबार एमालेका ७५३ स्थानीय तह (पालिका)हरुको अधिवेशनलाई ‘भर्चुअल’ उद्घाटन गर्दै ओलीले भनेका थिए– ‘परमादेश एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला। त्यसो हो भने एक जनासँग किन राजीनामा माग गर्नुहुन्छ, श्रीमान्ज्यूहरु? पाँचै जनाले परमादेश गरेर देश यो हालतमा पुर्याउनुभएको छ त पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र?’
मंगलबार जबरालाई भेट्न गएका सर्वोच्च अदालतका एक न्यायाधीश जबरा र ओलीको ‘भ्वाइस’ (बोली) मिल्नुलाई संयोगको रुपमा मात्रै ठान्न नमिल्ने बताउँछन्। ‘सर्वाेच्चको फैसलापछि प्रधानमन्त्री पद गुमाएर प्रतिपक्षी बनेको दलका नेताले जस्तै उहाँ (प्रधानन्यायाधीश)ले पनि उल्टै ४ जना न्यायाधीशको राजीनामा माग गर्नु संयोग मात्र मान्न सकिएला र?’ सर्वोच्चका ती न्यायाधीश भन्छन्, ‘उहाँको कुरा गराइको शैलीले त उहाँलाई प्रतिपक्षी दलको पूर्ण ब्याकअफ (समर्थन) छ जस्तो देखियो।’
एमालेले जबरालाई साथ दिनुमा धेरै ‘स्वार्थ’ रहेको १ जना कानुन व्यवसायीको भनाइ छ। प्रतिनिधि सभा विघटनको निर्णय उल्टाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश गलत थियो भन्ने सन्देश प्रवाह गर्न पनि ओलीले प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका न्यायाधीशहरुको राजीनामा मागिरहेको ती कानुन व्यवसायीको भनाइ छ। तर, ओली र उनी नेतृत्वको एमालेले अहिलेको अवस्थामा जबराकै निरन्तरता चाहेको उनी बताउँछन्।
‘ओली प्रधानमन्त्री भएको बेला जबराकै साथ, सहयोग र हिस्सेदारीमा विभिन्न संवैधानिक निकायमा नियुक्ति गरिएको छ। जबरा हटे भने ती नियुक्ति पनि अदालतबाट खारेज हुनसक्छन् भन्ने डर ओलीलाई छ,’ ती कानुन व्यवसायी भन्छन्, ‘अर्को कुरा के पनि हो भने गत पुस ५ गते संसद विघटन गरेपछि ओली पार्टी (तत्कालीन नेकपा)मा निकै अप्ठेरो अवस्थामा थिए। जबराले नै गठन गरेको इजलासले नेकपा विभाजन हुने फैसला गरेर ओलीलाई शक्तिशाली बनाएको थियो। त्यसको गुन तिर्न पनि अहिले ओलीले जबरालाई साथ दिइरहेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।