काठमाडौं– नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बुधबारसम्म राजीनामा दिन 'अल्टिमेटम' दिएको छ। बुधबारसम्म पनि राजीनामा नदिए देशभर आन्दोलन चर्काउने बारले 'चेतावनी' समेत दिएको छ।
शुक्रबार बसेको बार पदाधिकारीको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि बुधबारसम्मको समयसीमा 'अल्टिमेटम' दिने निर्णय गरेको हो।
कात्तिक १८ गते (बिहीबार)देखि तिहारको बिदा सुरु हुने भएकाले बारले त्यस अगाडि नै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने गरी 'समयसीमा' दिने निर्णय गरेको हो।
बारले तिहारसम्मका लागि प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरेको छ। घोषित थप आन्दोलनअन्तर्गत सबै कानुन व्यवसायीले कालो पट्टी बाँध्ने र प्रधानन्यायाधीश जबराको इजलास बहिस्कार गरिने छ।
यस्तै, प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न भनेर माग गर्ने निर्णय पनि भएको नेपाल बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।
बारले देशभरका ९० वटा इकाइहरुलाई आन्दोलनमा ऐक्यवद्धता तजा सहभागिता जनाउन समेत परिपत्र गरेको छ। बारले आन्दोलनका थप कार्यक्रमका लागि भिडियो कन्फरेन्समार्फत् देशभरकै इकाइबाट राय सुझाव लिने पनि निर्णय गरेको छ।
प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पनि बारका महासचिव पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।