काठमाडौं– नेपाल बार एसोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। यसअघिको 'अल्टिमेटम'अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले शुक्रबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
शुक्रबार बसेको नेपाल बार पदाधिकारी बैठकले आइतबारदेखि सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेको छ। कात्तिक १४ गते देखि १७ गतेसम्म कालो पट्टी बाँधेर आन्दोलन गर्ने निर्णय बारले गरेको छ।
बारले देशभरका ९० वटा इकाइहरुलाई आन्दोलनमा ऐक्यवद्धता तजा सहभागिता जनाउन समेत परिपत्र गरेको छ। बारले आन्दोलनका थप कार्यक्रमका लागि भिडियो कन्फरेन्समार्फत् देशभरकै इकाइबाट राय सुझाव लिने पनि निर्णय गरेको छ।
बारको शुक्रबारको बैठकले प्रधानन्यायाधीश जबरासँग इजलासमा नबस्न माग गर्ने निर्णय गरेको छ। बारको बैठकले तिहार अगाडि सम्मका लागि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पनि बारका महासचिव लीलामणि पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।