काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा भूगोलबाट प्रतिनिधि बढाउन माग भएको छ।
दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न शुक्रबार सुरु एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले भूगोलबाट महाधिवेशनमा प्रतिनिधित्व बढाउन माग गरेका हुन्।
उपाध्यक्ष भीम रावलसहित नेताहरु हिक्मत कार्की, गोकुल बाँस्कोटा, झपट रावल लगायतले भूगोलबाट प्रतिनिधि कम भएको भन्दै बढाउनुपर्ने माग बैठकमा गरेका छन्। अन्य केन्द्रीय कमिटी सदस्यले पनि यो विषय उठाएका छन्।
भूगोलबाट एक हजार १९६ जना प्रतिनिध चयन हुने व्यवस्थालाई बढाउनुपर्ने उनीहरुको भनाइ छ। उनीहरुले प्रतिनिधि १८ सयदेखि २ हजार बनाउनपुर्ने माग गरेका छन्।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षा भइरहेको छ।
स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने तय गरेको थियो। आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन्। यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० तथा पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।