काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रगतिशील देशभक्त कम्युनिस्ट शक्तिसँग एकता गर्ने विषयमा छलफल चलिरहेको बताएका छन्।
शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा र विवेकशील साझा पार्टीसँग एकता गर्ने विषयमा छलफल चलेको बताएका हुन्।
‘एकीकृत समाजवादी देशको सशक्त पार्टी बन्दै छ। हामीले मोहनविक्रम सिंह, मोहन वैद्य, विप्लव र विवेकशील साझाका नेताहरुसँग एकताका विषयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘मिल्नसक्ने शक्तिसँग एकता गरेर जाने र मिल्न नसक्ने शक्तिहरुसँग चुनावी तालमेल गरेर जाने विषयमा कुराकानी भइरहेको छ।’
आगामी चुनावमा एकीकृत समाजवादी पार्टी बलियो शक्तिको रुपमा उदाउने नेपालले दाबी गरे। आफू एमालेमा फर्किने कल्पनासमेत गर्न नसकिने उनले बताए। अरु एमालेमा भएका नेताहरु आफ्नो पार्टीमा फर्किने संकेत पाएको अध्यक्ष नेपालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।