काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरु शुक्रबार छलफलमा जुटेका हुन्।
काठमाडौंमा उपलब्ध न्यायाधीशहरुको बैठक सर्वोच्चमा बसिरहेको हो। न्यायाधीशहरु छलफलमा जुटेसँगै इलजासहरु प्रभावित भएका छन्।
प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन्। बुधबार र बिहीबार आफ्नो एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफ्नो एकल इजलास तोकेका छैनन्। उनले आज आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा उनले ३० वटा पेसी राखेका छन्।
गत आइतबारबाट इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई सामूहिकरुपमा भेट गर्दै राजीनामा माग गरेका थिए। तर, प्रधानन्यायाधीश राणाले भने राजीनामा नदिने अडान लिएका थिए।
न्यायाधीशहरूले प्रधानन्यायाधीश राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष यसअघिको बैठकमा निकालेका थिए।
सर्वोच्च अदालतका १९ न्यायाधीश प्रधानन्यायाधीश राणाको विपक्षमा रहेका छन्।
मन्त्रिपरिषद्मा भाग मागेकोलगायतका विषयले प्रधानन्यायाधीश राणा पछिल्लो समय विवादमा तानिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।