काठमाडौं– संवैधानिक परिषद्को विवादित बैठकका निर्णयविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाले दोस्रो पेसी नताेक्दा नौ महिनादेखि अलपत्र परेको छ। उक्त रिटमा राणालाई पनि विपक्षी बनाइएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ३० मंसिरमा बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा उपस्थित थिएनन्। सो बैठक बोलाउने प्रक्रियादेखि नियुक्तिका विषयमा देखिएका कयौं त्रुटि समेटेर सापकोटाले माघ २३ गते सर्वोच्च अदालतमा रिट दायर गरे। बैठकमा प्रधानन्यायाधीश राणासमेत उपस्थित भएकोले उनलाई पनि विपक्षी बनाइएको छ। सभामुखले प्रधानन्यायाधीशलाई विपक्षी बनाएर रिट दायर गरेको यो पहिलो पटक हो।
गत मंसिर ३० गते बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाए। तर, सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन्। समयमै खबर नपाएको र छलफलको अजेन्डासमेत जानकारी नभएको भन्दै सापकोटा नगएकै कारण बैठक बस्न सकेन।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुने व्यवस्था छ। बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित हुनुपर्थ्यो। उपसभामुख रिक्त भएको र सभामुख उपस्थित नभएकाले गणपुरक संख्या पुगेन।
त्यो दिन ९ बजेको बैठक बस्न नसकेपछि बेलुका ५ बजेलाई पुनः अर्को बैठक बोलाइयो। त्यसबीचमा मन्त्रिपरिषद् बैठक डाकेर संवैधानिक परिषद्सम्बन्धी ऐनमा केही 'रणनीतिक' परिवर्तन गर्न अध्यादेश सिफारिस गरियो। सिफारिस गरेको केही बेरमै राष्ट्रपतिबाट अध्यादेश जारी भयो।
पहिलो त, २०७७ वैशाख ८ गते नै जारी भएको अध्यादेशकै प्रावधान राखेर पुनः अध्यादेश जारी गरिएको थियो। जबकि, त्यतिबेला अध्यादेश जारी गरिएकोमा ‘गल्ती सच्याउँदै’ १२ गते फिर्ता लिइएको थियो। एकपटकको गल्ती पुनः दोहोर्याउँदा ‘बदनियत’ राखिएको थियो। दोस्रो, ‘अध्यक्षको निर्देशन अनुसार सचिवले संवैधानिक परिषद्को बैठक बस्ने मिति, समय र स्थान तथा छलफलको विषयसूचीसहितको सूचना बैठक बस्नुभन्दा कम्तीमा ४८ घण्टा अगावै सदस्यहरुलाई पठाउनु पर्नेछ’ भन्ने ऐनको व्यवस्था पालना गरिएन। किनकि, झन्डै सात घण्टाको मात्रै अन्तर राखेर मंसिर ३० गतेको दोस्रो बैठक बोलाइएको थियो।
दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भए। सो बैठकले विभिन्न संवैधानिक निकायहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो। तर, त्यस दिन भने नियुक्ति नगरिएको जनाइएको थियो। तर, पुस ५ मा विभिन्न पदका लागि ३८ जनाको सिफारिस गरिएको सार्वजनिक भयो। संसदीय सुनुवाइ नै नभइकन उनीहरुमध्ये ३२ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेर शपथ खुवाइन्। जबकि, सभामुखले संसदीय सुनुवाइका लागि आएका नामहरु फिर्ता पठाइदिएका थिए।
विवादित प्रक्रियाबाट राखिएको बैठकमा प्रधानन्याधीश उपस्थित रहन नहुने मत अभिव्यक्त भइरहेका थिए। तर, राणा बैठकमा गए। र, शंकास्पद ढंगले गरिएको नियुक्तिमा भागबण्डा पनि लिए।
‘आफू त्यहाँ भइसकेपछि आफ्ना अन्तर्गतका न्यायाधीश, कर्मचारीलाई संवैधानिक निकायमा प्रतिनिधित्व गराउँदा भागबण्डा भनियो। यो मैले पटक्कै बुझिनँ। भागबण्डा थिएन, मैले आफ्ना न्यायाधीश, कर्मचारीलाई योग्य हुनुहुन्छ है भनिदिएर प्रतिनिधित्व गराएको हो,’ बिहीबार नागरिक दैनिकमा प्रकाशित अन्तर्वार्तामा उनले भनेका छन्, ‘त्यहाँ रोस्टर हुन्छ, रोस्टरमा नाम राखिदिनु त दायित्व र कर्तव्यभित्रै पर्छ। म अध्यक्षज्यूपछि वरिष्ठ सदस्य हो। त्यहाँ गएर प्रधानन्यायाधीशले ल्याप्चेमात्रै लगाउने भन्ने कुरा जायज हुन सक्छ र? दायित्व र कर्तव्य होइन र?’
तर, आफूसमेत संलग्न भएर गरिएको सिफारिसका विरुद्ध परेको रिटलाई प्रधानन्यायाधीश राणाले प्राथमिकता दिएनन्। माघ २५ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले ती नियुक्तिका सन्दर्भमा कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसपछि उक्त मुद्दाको पेसी चढ्न सकेको छैन। करिब ९ महिनादेखि उक्त मुद्दामा लिखित जवाफ पेस भएर बसेको छ।
मंसिर ३० कै सिफारिस विवादमा परेको र अध्यादेशदेखि नियुक्तिसम्मका मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै बेला वैशाख २६ मा पुनः संवैधानिक परिषद्को बैठक बस्यो। राज्यका तीन अंगमध्ये एक अंगका प्रमुखले बाँकी दुई अंगका प्रमुखलाई विपक्षी बनाएर दायर गरेको रिट अलपत्र छाडेर प्रधानन्यायाधीश राणा बैठकमा सहभागी भए। जबकि, मंसिर ३० मै जारी भएको अध्यादेशलाई पुनः जारी गराएर बैठक बोलाइएको थियो। यसरी बसेको बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी थिएनन्। बैठकबाट पनि २१ जनाको नाम नियुक्तिको लागि सिफारिस भएको थियो, जसमा प्रधानन्याधीशले भाग लिएका थिए।
विवादित विषयमा पनि आफ्नो छवि जोगाउन नसक्ने बरु भागबण्डा लिन अग्रसर हुने राणाको स्वभावले कात्तिक लागेसँगै तीव्र विरोध खेपिरहेको छ। सर्वोच्च अदालतमै उनी बाहेकका न्यायाधीश उनको विरुद्धमा उभिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।