काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। पार्टीको केन्द्रीय विशेष समितिको बैठकले आगामी मङ्सिर ११ देखि १३ गतेसम्म महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो।
यसअघि यही कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएको सो अधिवेशन प्राविधिक कारणले केही साता सार्ने निर्णय केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताए। बैठकले सक्रिय सदस्य बनाउने अवधि कात्तिक १५ गतेसम्म बढाउने निर्णयसमेत गरेको पाण्डेले बताए।
बैठकले केन्द्रीय निर्वाचन समितिलाई कात्तिक २६ गतेभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने निर्देशन दिएको छ। सक्रिय सदस्यको दाबी विरोध यही कात्तिक २७ देखि २९ गते गर्ने, अन्तिम नामावली ३० गते प्रकाशन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिएको छ।
साथै, बैठकले सक्रिय सदस्यको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखी सार्वजनिक गर्न निर्देशन दिएको छ। जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र तथा २८ गते प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन गर्नेसमेत निर्देशन दिएको छ।
सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी मङ्सिर १ देखि ३ गते गर्ने, जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची तय गरेको छ।
महाधिवेशनको तयारीका लागि विभिन्न नौ समिति गठन गरेको बैठकले सामाजिक कार्यपत्र तयारी समितिको संयोजकको जिम्मेवारी पशुपतिशम्शेर जबरालाई दिएको छ। त्यसैगरी, आर्थिक कार्यपत्र तयारी समितिको संयोजकमा डा प्रकाशचन्द्र लोहनी, राजनीतिक कार्यपत्र तयारी समितिको संयोजकमा कमल थापा रहेका छन्।
बैठकले कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समितिसमेत गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।