काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सुजिता शाक्यले अहिलको सरकार नै अवैधानिक तरिकाले बनेको टिप्पणी गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सांसद शाक्यले अहिलेको सरकार नै अवैधानिक रहेको बताइन्। उनले प्रधान्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार पनि जिम्मेवार रहेको बताइन्।
सांसद शाक्यले भनिन्, ‘अहिलेको सरकार नै अवैधानिक थियो। यसमा सरकारको जो नेतृत्व छ, नेतृत्व पनि जिम्मेवार छ, न्यायालय त जिम्मेवार हुने नै भयो। दुईवटै पक्षबाट गल्ती भएको छ, आफ्नो नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।’
अर्का एमाले सांसद झपट रावलले अदालतको बेथितिलाई कानुनसम्मत निकास दिनुपर्ने बताए। उनले न्यायालयले नै न्याय खोज्नु बिडम्बना भएको बताए। ‘बेथितिलाई रोक्न कानुनले भनेअनुसार चल्नुपर्छ, न्यायालयले नै न्याय खोज्नु जस्तो बिडम्बना अरु केही हुन सक्दैन’, उनले भने, ‘न्यायपालिकाबाटै अराजकता देखिनुले मुलुक कता जाँदैछ भन्ने भान गराउँछ। संसद्ले छानबिन समिति बनाएर यसलाई निकास दिनुपर्छ।’
सांसद महेश बस्नेतले व्यक्तिगत ढंगले नभइ प्रवृत्ति र नीतिगत ढंगले न्यायपालिकाको सुधार गर्नुपर्ने बताए। उनले प्रधानन्यायाधीशको राजीनामा मागेर मात्रै समस्याको समाधान नहुने बताए।
सांसद बस्नेतले न्यायपालिकालाई सदृढ बनाउन प्रधानमन्त्रीको पहलमा सर्वदलीय बैठक बसेर यसको निकास दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।