काठमाडौं- सरकारले नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
बैठकले प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमणलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।
बिहीबारकै मन्त्रिपरिषद् बैठकले तीन देशका लागि राजदूत सिफारिस समेत गरेको छ।
भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिएको हो। भारतका लागि राजदूत सिफारिस गरिएका शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन्।
यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ती देशका राजदूत फिर्ता बोलाइसकेको छ।
मन्त्रपरिषद् बैठकले भोलि मध्यरातदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।