काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी पनि बहुमत न्यायाधीशकै पक्षमा उभिएका छन्।
बुधबारसम्म कतातिर खुल्छन् भन्ने टुंगो नलागेको उनले बिहीबार न्यायाधीशहरुकै पक्षमा रहेको बताएका हुन्। उनले आज न्यायाधीश बमकुमार श्रेष्ठलाई सन्देश पठाएर आफू न्यायपालिकाको विकृतिविरुद्ध नै उभिएको बताएका छन्।
‘उहाँले आफू न्यायपालिकामा भइरहेको विसंगति र विकृतिका विरुद्ध भइरहेको अभियानमै छु,’ केसीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। न्यायाधीश केसीले प्रधानन्यायाधीशबाट न्यायपालिकाको नेतृत्व अब अघि बढ्न नसक्ने भएकाले आफू अरु न्यायाधीशकै साथमा रहेको सन्देश पठाएका हुन्।
दशैं बिदामा घर गएका उनले पछिल्लो समय सर्वोच्चमा भएको विवादमा आफ्नो पक्षधरता खुलाएका थिएनन्। केसी पनि प्रधानन्यायाधीश राणाको विद्रोही खेमामा उभिएपछि अब सर्वोच्च अदालतमा राणा एक्ला भएका छन्। २० जना न्यायाधीश रहेको सर्वोच्च अदालतमा अन्य १९ जना न्यायाधीश नै प्रधानन्यायाधीशविरुद्ध उभिएका हुन्।
सर्वोच्चमै आफ्ना सहकर्मी न्यायाधीश, पूर्वप्रधानन्यायाधीशदेखि नेपाल बार, सर्वोच्च बारलगायत सबै क्षेत्रबाट प्रधानन्यायाधीश राणाको राजीनामा मागिए पनि उनले अहिलेसम्म राजीनामा नदिने बताउँदै आएका छन्। राणाले सार्वजनिक रुपमा नै आफू जुन संसदीय प्रक्रियाबाट आएको हो त्यसैअनुसार जान तयार रहेको तर, सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।