महोत्तरी– जाली (नक्कली) नोट र नोट बनाउन प्रयोग हुने उपकरणसहित महोत्तरी प्रहरीले १ जनालाई पक्राउ गरेको छ। नक्कली नोट बनाउने कारखानामा छापा मार्दा प्रहरीले १ जनालाई पक्राउ गरेको हो।
गौशाला नगरपालिका–५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका–९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई प्रहरीले पक्राउ गरेको हो। नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
महतोले विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले नोट बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू, सक्कली नेपाली तथा भारतीय नोटहरूसहित उनलाई पक्राउ गरेको हो।
उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ, विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ बरामद भएको छ।
यस्तै, विभिन्न दरका नोट गरी २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मा गान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।