काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ देखि १८ वर्षका बालबालिकालाई लगाउने कोभिड–१९ विरुद्धको १ करोड डोज खोप छिट्टै आउने बताएका छन्।
मन्त्रालयमा बिहीबार भएको पत्रकार भेटघाटमा मन्त्री खतिवडाले १२ देखि १८ वर्षका बालबालिकालाई खोप लगाउनका लागि १ करोड खोप बुक गरिसकेको जानकारी दिएका हुन्। फाइजर र मोडर्ना गरी १ करोड खोप ल्याउने प्रक्रिया अघि बढीसकेको मन्त्री खतिवडाको भनाइ छ।
ती खोप १५ दिन भित्रमा आइपुग्ने उनले जानकारी दिए।
मन्त्री खतिवडाले भने, ‘१२ देखि १८ वर्षका बालबालिकालाई लगाउने एक करोड डोज बुक गरिसकेका छौं। कति पैसा भुक्तानी भइसकेको छ भने कति हुन बाँकी छ। फाइजर र मोडर्ना गरी एक करोड खोप १५ दिन आसापासमा आउँछ।’
चीन र भारतमा परीक्षण भइरहेको खोप विश्व स्वास्थ्य संगठनले मान्यता दिएपछि आफूहरुले त्यहाँबाट खोप खरिदका लागि प्रक्रिया अघि बढाइने मन्त्री खतिवडाले बताए।
आगामी चैतसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने उनले बताए। हाल ३० लाख खोप स्टकमा रहेको बताउँदै उनले चैतसम्ममा थप दुई करोड खोप आइसक्ने बताए।
उनले भने, ‘चैतसम्ममा दुई करोड खोप आउने पाइप लाइनमा छन्। अहिले उत्पादन पनि बढीरहेकाले सबै नेपालीलाई खोप लगाउने लक्ष्य पुरा हुँदैन की भन्नेमा चिन्ता गर्नुपर्ने स्थिति देख्दिनँ।’
मन्त्री खतिवडाले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टाचारका काम हुन नदिने बताए। ‘मेरो कार्यकालमा भ्रष्टाचार भयो। अनियमितता भयो भन्ने विषय तपाईंहरुले लेख्न, सुन्न पाउनु हुन्न र पाउन दिन्न भन्ने मैले अठोट गरेको छु,’ खतिवडाले भने।
नयाँ स्वास्थ्यमन्त्री आउने बित्तिकै नयाँ योजनाहरु नआउने उनको भनाइ छ। तर, अहिले भएकै कुरालाई व्यवस्थित गर्नतर्फ अघि बढ्ने उनले बताए।
स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयसँग ४५ करोड माग गरिएको समेत उनले जानकारी दिए। जोखिम भत्ता नपाएको गुनासो आएको भन्दै भत्ता वितरणका लागि अर्थ मन्त्रालयसँग ४५ करोड माग गरिए पनि निकासा भने भइनसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।