काठमाडौं- साताको अन्तिम दिन बिहीबार (आज) पनि नेपालको सेयरबजार दोहोरो अंकले बढेको छ। यो साता सुरुआतबाटै बढेको सेयरबजार त्यही लयमा अन्तिम दिन पनि दोहोरो अंकले बढेर बन्द भएको छ।
आज पुँजीबजार मापक परिसूचक नेप्से १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा उक्लिएको छ।
नेप्सेमा आज पाँच अर्ब ३९ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२२ वटा कम्पनीका ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५९ हजार १४० पटक किनबेच भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९९ विन्दुमा उक्लिएको छ।
रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि हुँदा कारोबारमा सकारात्मक सर्किट लागेको थियो। अरु दुई कम्पनीको मूल्य पनि सर्किट विन्दुनजिक पुगेको थियो। एनएमबी हाइब्रिड फण्ड एल-१ का लगानीकर्ताले सबैभन्दा धेरै ३.१८ प्रतिशतका दरले गुमाएका छन्।
आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै २९ करोड १९ लाख पाँच हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सेयर सबैभन्दा धेरै छ लाख ८८ हजार ९४ कित्ता तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै दुई हजार ४१ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
आज बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन र प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहका परिसूचक राताम्य बनेका छन् भने बाँकी उपसमूहको परिसूचकमा हरियाली छाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।