काठमाडौं– प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ। अर्को बैठक कात्तिक २९ गते सोमबारका लागि तोकिएको छ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले अवरोध गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेर्न पुगेका थिए। सभामुखले बाढी पहिरोले पुर्याएको क्षति तथा समसामयिक विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमालेका सांसद्हरुले अवरोध जारी राखेका थिए।
एमाले अवरोधकै बीच सभामुख सापकोटाले बैठकको कार्यसूची अघि बढाएका थिए। उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गर्न समय दिएका थिए।
सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम प्रतिनिधि सभा सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतिका लागि प्रस्तुत गरेका थिए। झलनाथ खनाल, कर्मा घले, प्रदीप गिरि गत भदौ २३ देखि कात्तिक ११ सम्मका १३ बैठकमा अनुपस्थित भएका थिए। उनीहरु सबै उपचार प्रक्रियामा रहेकाले उपस्थित नभएका हुन्। बैठकले यो सूचना सभाले स्वीकृति जनाएको छ।
यस्तो छ प्रतिनिधि सभा नियमावलीको नियम २१० मा रहेको अनुपस्थितिको सूचना सम्बन्धी व्यवस्था:
(१) कुनै सदस्य लगातार दसवटा वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहनु पर्ने भएमा तत्सम्बन्धी अग्रीम सूचना सभामुखलाई दिनु पर्नेछ।
(२) कुनै सदस्य सभाको दसवटा भन्दा कम बैठकमा उपस्थित हुन नसक्ने स्थिति भएमा सभामुखलाई अग्रिम सूचना दिनु पर्नेछ। अग्रीम सूचना दिन नसक्ने कुनै मनासिब कारण भए उपस्थित भएको तीन दिनभित्र सूचना दिनु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम दिइने सूचनामा आफु अनुपस्थित रहने अवधि र कारण समेत उल्लेख गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिमको सूचना भए सभामुखले सभाको स्वीकृतिको निमित्त प्रस्तुत गर्नेछ र उपनियम (२) बमोजिमको सूचना भए सभामुखले स्वीकृत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।