काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेतले सत्ता गगठबन्धनमा छलफल गरेर कर्णाली प्रदेश सरकारको टुंगो लगाउने बताएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तत्कालीन अवस्थामा अल्पमतमा परेपछि कांग्रेससँग भागबन्डा गर्ने सहमति भएको बस्नेतले स्वीकार गरे। तर, अहिले परिस्थिति फेरिएकाले सातै प्रदेशका सरकारका विषयमा एकमुस्ट सहमति गरिने बस्नेतले बताए।
‘तत्कालीन नेकपामा विवाद भएपछि हाम्रो मुख्यमन्त्रीजी अल्पमतमा पर्नुभयो। त्यसबेला कांग्रेससँग आधा कार्यकाल छोड्ने सहमति भएकै हो’, बस्नेतले नेपाल लाइभसँग भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमन भएपछि कांग्रेससहित पाँच दलीय गठबन्धन बन्यो । त्यसपछि सातै प्रदेशका सरकारका विषयमा गठबन्धनमा छलफल गरेर टुंगो लगाउनु पर्ने छ। अनि मात्र कर्णाली प्रदेश कांग्रेसलाई छोड्न/नछोड्ने टुंगो लाग्ने छ।’
तर, नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी कात्तिक १५ गतेभित्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। यसअघि कांग्रेस र माओवादी केन्द्रबीच कात्तिक १५ गतेसम्म सत्ता छोड्ने सहमति भएकाले तत्काल राजीनामा दिन दबाब बढिरहेको छ। माओवादीले कात्तिक १५ गतेभित्र सत्ता नछोडे सरकारलाई दिएको समर्थन फिर्ता लिने काग्रेस सांसदहरुले चेतावनी दिइसकेका छन्।
सात प्रदेशमध्ये प्रदेश २ मा जनता समाजवादी पार्टीलाई छोडेपछि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले २/२ प्रदेश छोड्ने सहमति भएको थियो। तर, प्रदेश सरकारका विषयमा केन्द्रले निर्णय गरेपछि प्रदेशहरुले उल्लंघन गर्न थालेपछि नयाँ सहमति गर्नुपर्ने अवस्था आएको हो।
लुम्बिनी, बागतीलगायत प्रदेशमा आधा/आधा कार्यकाल भन्दै सरकार बनाउन थालेपछि कर्णालीमा के गर्ने भन्ने विषयमा ढिलाइ भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।