काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशमा राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्न गइरहेकाले आज खुसीको दिन भएको बताएका छन्। बिहीबार धनगढी विमानस्थलमा बोल्दै उनले आफ्नो संगठनको विस्तार भइरहेको र प्रभाव बढिरहेको बताए।
उनले प्रदेश २ मा आफ्नो दल केपी ओलीको दलभन्दा ठूलो भएको चर्चा गरे। त्यहाँ छिट्टै सरकारमा सहभागी हुन गइरहेको उनले बताए। त्यस्तै, प्रदेश १ मा पनि १५ गते आफ्नो पार्टीका राजेन्द्र राईले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने उनको भनाइ छ। त्यस विषयमा पाँच दलीय गठबन्धनमा सहमति भइसकेको उनले बताए।
अध्यक्ष नेपालले जनताको चाहना र आकांक्षालाई पूरा गर्न केन्द्रीय सरकारमा सहभागी भएको दाबी गरे। उनले राष्ट्रिय राजनीतिमा पनि आफ्नो पार्टी वर्चस्व कायम गर्ने हिसाबले अघि बढिरहेको बताए। आगामी निर्वाचनमा अन्य पार्टीसँग गठबन्धन गर्ने उनको भनाइ छ। तर पार्टी एकता भने कसैसँग नगर्ने उनले दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।