काठमाडौं- बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्नका लागि दिइएको समय आज ३ बजे सकिँदै छ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँग नयाँ मुख्यमन्त्री लागि आह्वान गरिएको थियो
'प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मिति २०७८/०७/१० गते बिहीबारका दिन अपराह्न ३ बजेभित्र बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ', प्रदेश प्रमुखको कार्यालयबाट बुधबार जारी भएको विज्ञप्तिमा भनिएको थियो।
सरकार गठन गर्न आह्वान भएसँगै गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एंव बागमती प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि ५९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।
बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ। तत्कालीन नयाँ शक्ति पार्टीबाट रसुवामा विजयी प्रेमबहादुर तामाङसहित गठबन्धनको पक्षमा ५९ सांसदले हस्ताक्षर गरेका हुन्। हाल कायम कूल १०९ सांसदमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद छन्।
३ सांसद रहेको विवेकशील साझा पार्टीले पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको छैन। उक्त दलका सांसद विराजभक्त श्रेष्ठले भने,‘विश्वासको मत दिने बेला पार्टीमा छलफल गरेर निर्णय लिन्छौं।’
२/२ सांसद रहेका नेपाल मजदुर किसान पार्टी र राप्रपाले पनि पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेनन्। ४३ सांसद रहेको एमाले प्रमुख प्रतिपक्ष हुने भएको छ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि पाण्डे नयाँ मुख्यमन्त्री बन्न लागेका हुन्। बिहीबार नै पाण्डेसहित गठबन्धनका दलबाट १/१ जनाले मन्त्रीको शपथ लिने बताइएको छ।
बुधबारको प्रदेश सभामा मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गरेकी थिइन्। एमाले विभाजनपछि उनी अल्पमतमा रहँदै आएकी थिइन्। विश्वासको मत लिनुपर्ने बाध्यता अनुसार उनले प्रस्ताव दर्ता गरेकी थिइन्। त्यसमाथि छलफल पनि भएको थियो। तर मत विभाजन हुनुअघि उनले राजीनामा घोषणा गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।