काठमाडौं- नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा चलिरहेको आन्दोलनका कारण मुद्दाको सुनुवाइ हुन नपाएको सेवाग्राहीसँग माफी मागेको छ। बारका महासचिव लिलामणी पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै केही दिन धर्यधारण गर्न आग्रह गरेका छन्।
‘न्यायपालिकाको समग्र सुधारको अभियान सुरू गर्दा केही दिन पेसी सुनुवाइ स्थगित हुनसक्ने अवस्था देखिएको छ’, विज्ञप्तिमा भनिएको छ ‘अनपेक्षित तर अनिवार्य परिस्थिति सिर्जना भएकोले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीहरुमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं। केही दिन धैर्यधारण गरि न्यायिक सुधारका कार्यमा सहयोग पुर्याउन पुनः हार्दिक अनुरोध गर्दछौं।’
बारले न्यायपालिका सुधारका कार्यक्रमहरु लागू गराउने समेतका कार्यमा नेपाल बार एसोसिएसन, न्याय तथा कानुनी क्षेत्रका व्यक्तिहरु र सेवाग्राही लगायत आम नागरिकहरुको पनि सहयोग अपेक्षित रहेको उल्लेख गरेको छ। बारले यो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने भनि सुरू भएको आन्दोलनमा बार पनि सहभागी छ। न्यायाधीश, पूर्वन्यायाधीशसहित न्याय क्षेत्रका सबैले राणाले राजीनामा दिनुपर्ने भनिरहँदा उनले भने राजीनामा नदिने अडान लिएका छन्। राणा र न्यायाधीशहरु आ-आफ्नै अजेन्डामा रहेका कारण आइतबारदेखि जारी अवरोध कायमै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।