फाइल तस्बिर।
काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेसँगै गठबन्धनका एक/एक जनाले मन्त्रीको शपथ पनि लिने भएका छन्।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन्।
बिहीबार उनको शपथसँगै प्रारम्भिक चरणमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबाट एक/एक मन्त्री बन्ने कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए। भोलि बिहान बैठक बसेर मुख्यमन्त्रीसँगै शपथ लिने मन्त्रीको टुंगो लगाइने बानियाँले बताए।
पहिलो चरणमा मन्त्री बन्नेमा कांग्रेसबाट कृष्णलाल भँडेलको सम्भावना सर्वाधिक रहेको बताइएको छ। भक्तपुर १ ‘क’को उपनिर्वाचनमा भँडेलले तत्कालीन नेकपाका उम्मेदवारलाई पराजित गरेका थिए।
माओवादी केन्द्रबाट कुमारी मोक्तानको नाम मन्त्रीको चर्चामा छ। मकवानपुर २ ‘ख’ बाट उनी गत निर्वाचनमा विजयी भएकी थिइन। नेकपाको सरकार हुँदा उनको नाम मन्त्री बन्ने चर्चामा थियो। माओवादीका राजकाजी महर्जन र विशाल खड्काको नाम पनि मन्त्रीको चर्चामा छन्।
एकीकृत समाजवादीबाट पहिलो चरणमा मन्त्री हुनेमा कृष्णप्रसाद शर्मा खनालको नाम अघि आएको छ। खनाल एकीकृत समाजवादीका चितवनका नेता समेत हुन्।
तत्कालीन नयाँ शक्तिबाट विजयी रसुवाका सांसद प्रेम तामाङ पनि गठबन्धनबाट मन्त्री बन्ने लाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।