काठमाडौं- बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन अपिल गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट बुधबार जारी विज्ञप्तिमा प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराइएको छ।
संवैधानिक अंगहरुमा भागबण्डा गरेको घटनाले न्यापालिकाको मर्यादा गिरेको नागरिक आन्दोलनको भनाइ छ। ‘वर्तमान संकट निदानका लागि जागृत बार एसोसिएसनहरू, पूर्वप्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबरामा व्याप्त न्यायिक विचलनका कारण न्यायपालिकाप्रति घट्दो जनआस्थाबीच सर्वोच्च अदालतमा इजलास बस्न नसक्ने दुरावस्था सिर्जना भएको उल्लेख गरेको छ।
आन्दोलनले प्रधान्यायाधीश जबरा प्रतिनिधि सभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्तीपूर्ण व्यवहारको मतियार बनेको आरोप लगाएको छ ।
‘राज्यलाई न्यायपूर्ण, लोकतान्त्रिक र समतामूलक बनाउन जवाफदेहिताका लागि खबरदारी गर्दै आएको बृहत् नागरिक आन्दोलनले न्यायपालिकामा व्यापक सुधारका साथ यसलाई जनताको न्यायिक आस्थाको केन्द्र बनाउनेतर्फ सम्बद्ध सबै पक्षहरूसँग आह्वान गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
न्यायाधीशको रुपमा सेवा प्रवेश गर्दा नै मिलेमतोको आरोप लागेका जबराको न्यायायिक जीवन विवादास्पद रहँदै आउनु र त्यसको कतै जवाफदेहिता नखोजिनु अहिलेको अव्यवस्थाको आधार भएको विज्ञप्तिमा उल्लेख छ।
‘न्यायाधीश नियुक्तिबारे संवैधानिक परिषद् र न्याय परिषद्का संरचना पुनरावलोकन तथा न्यायपालिकाप्रति जनभरोसा कायम गर्न आवश्यक पारदर्शीपूर्ण जवाफदेहिताको संयन्त्रबारे संविधान संशोधन गर्ने आवश्यकता दलहरूले आत्मसात गर्नुपर्ने छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसनिम्ति अविलम्ब संसद् बसाली न्यायवेत्ता तथा न्याय क्षेत्रसम्बद्ध विशेषज्ञ तथा सरोकारवालाहरूसँग परामर्शसहित पहल गर्न हामी दलहरूको ध्यानाकर्षण गर्दछौं।’


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।