काठमाडौं- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्।
बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिने शाक्य मन्त्रिपरिषद्का एक मन्त्रीले जानकारी दिए।
'उहाँले विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न लाग्नुभएको हो', ती मन्त्रीले भने।
प्रदेश सभामा आज मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुने कार्यसूची थियो। त्यसअघि नै उनले राजीनामा दिन लागेकी हुन्।
गत असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। यसअघि कात्तिक ४ गतेको बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छिन्। बागमती प्रदेश सभामा १०९ सदस्य छन्। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्थ्यो। हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन्।
गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन्। बागमतीमा नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) का १३ सांसद छन्।
त्यसैगरी, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।