काठमाडौं- सर्वोच्च अदालत परिसरको सुरक्षामा कडाइ गरिएको छ। पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा तानिएका र सर्वोच्चकै न्यायाधीशले इजलास बहिष्कार गरिरहेका बेला सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।
समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको छ। सर्वोच्च अदालतको रिपोर्टिङका लागि पाससहित यसअघि नियमित रिपोर्टिङमा गएका पत्रकारलाई समेत 'माथिको आदेश' भन्दै प्रवेशमा रोक लगाएको छ।
'सर्वोच्चको पास देखाउँदै देखाउँदै पनि समाचार संकलनका लागि प्रवेशमा रोक लगाएको छ। माथिको आदेश भनेर रोकियो', सर्वोच्च अदालत पुगेका नेपाल लाइभकर्मी दुर्गा दुलालले भने।
कानुन व्यवासायीहरूलाई समेत सुरक्षा जाँचमा कडाइ गरिएको छ। विवादकै बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने आफ्नो एकल इजलासमा पाँच मुद्दाको सुनुवाइ गरेका छन्।
बुधबारका लागि उनले संवैधानिक इजलाससहित ११ इजलास तोकेका थिए। राणाबाहेकको अन्य इजलास भने न्यायाधीशहरूले बहिष्कार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।