काठमाडौं– नेपाल बंगलादेश बैंकले गत आवको लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले मंसिर २ गते बिहीबार २७औँ वार्षिक साधारण सभा गर्न निर्णय गरेको हो। सभा बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ।
सभाबाट बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ।
यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावमाथि छलफल हुनेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।