काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबारदेखि जारी छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्ब्वधन गरेका छन्।
१६ देशका श्रममन्त्री तथा उच्च अधिकारीहरु सहभागी आबुधाबी डायलगमा मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने प्रस्ताव राखे।
उनले आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै नि:शुल्क खान-बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा नि:शुल्क पीसीआर परीक्षण, नि:शुल्क क्वारेन्टिन तथा आइसोलेसन सेन्टरको व्यवस्था र नि:शुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका छन्।
आबुधाबी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका छ मुलुक र मलेसियाका श्रममन्त्रीहरू संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो। आबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ। कात्तिक १२ गतेसम्म सञ्चालन हुने डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।