फाइल तस्बिर
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले नेपालमा हुने गरेको जातीय विभेद्लाई सदाको लागि अन्त्य गर्नुपर्ने बताएका छन्।
कात्तिक ७ र ८ गते काठमाडौंमा भएको 'दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका' विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उक्त धारणा राखेका हुन्।
जातीय विभेद् गर्न नपाउने भनी संविधानमा स्पष्ट प्रावधान रहेको उल्लेख गर्दै उनले सो प्रावधानलाई पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए। उनले जातीय विभेद्लाई यही पुस्ताले सदाको लागि अन्त्य गर्नुपर्ने बताए। आगामी पुस्ताले जातीय विभेद्को विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उनले उल्लेख गरे।
‘जातीय विभेद् गर्न पाइँदैन भन्ने हाम्रो संविधानको प्रावधान हो। त्यसलाई पालना गर्न हामी प्रतिबद्ध छौँ। हाम्रो दिमागमा रहेको यो जातीय विभेद्लाई कसरी सदाको लागि अन्त्य गर्ने, कमसेकम हाम्रै पालामा त्यो सकियो भने धेरै ठूलो उपलब्धि हुन्छ। आउने जेनेरेशन, हामी पछिको जेनेरेशनले त्यो कुरा उठाउनै नपरोस्। त्यसमा समय खर्चै गर्नु नपरोस् भन्ने नै हामी सबैको मानसिकता हो,’ उनले भने।
गृहमन्त्री खाणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनै पनि भूभागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताए। यसको निम्ति सम्बन्धित सुरक्षा निकायलाई परिपत्र गरिएको पनि उनले उल्लेख गरे।
उनले विपद्बाट पीडित नागरिकहरुलाई सरकारले राहत तथा पुन:स्थापना गर्ने पनि बताए। क्षतिको विवरण अध्ययन गर्न सरकारले कार्यदल बनाएको र कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।