काठमाडौं– भारतको ६७औं राष्ट्रिय फिल्म अवार्डमा अभिनेता सुशान्त सिंह राजपूत (निधन भइसकेका) अभिनित ‘छिछोरे’लाई उत्कृष्ट फिल्मको अवार्ड दिइएको छ।
नितेश तिवारीको निर्देशन तथा साजिद नाडियाडवालाको निर्माणमा बनेको फिल्मलाई उत्कृष्ट फिल्मको अवार्ड दिइएको हो। साजिदको फिल्म निर्माण कम्पनीले आफ्नो ट्विटर ह्याडलमार्फत् ‘छिछोरे’ले अवार्ड पाएको र उक्त अवार्ड सुशान्तलाई समर्पित गरिएको जानकारी दिएका छन्।
अवार्डबारे जानकारी दिइएको ट्विटमा लेखिएको छ, ‘आज हामी सबैको लागि गर्वको क्षण हो किनकी ‘छिछोरे’ले प्रतिष्ठित राष्ट्रिय अवार्ड पाएको छ। यो अवार्ड सुशान्त सिंह राजपूतप्रति समर्पित गर्छौं।’
‘रोमेन्टिक–कमेडी’ विधामा रहेको फिल्म ‘छिछोरे’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो। प्रदर्शन ताका पनि उक्त फिल्मले राम्रो चर्चा कमाएको थियो। तिनेश तिवारी, पियुश गुप्ता र निखिल मेहरोत्राले संयुक्त रुपमा लेखेको फिल्ममा सुशान्तसँगै श्रद्धा कपुर, बरुण शर्मा, तिहार राज भासिन, तुसार पाण्डे, नभिन पोलिशेट्टीलगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।