काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले जातीय विभेद गर्न पाइदैन भन्ने संविधानमा रहेको व्यवस्था व्यवहारमा पालना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार गृह मन्त्रालयमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको १५ बुँदे काठमाडौँ घोषणा पत्र बुझ्दै गृहमन्त्री खाणले संविधानमा रहेको व्यवस्था व्यवहारमा पालना गर्न सरकार तयार रहेको बताए। घोषणा पत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले गृहमन्त्री खाणलाई बुझाएका थिए।
‘जातीय विभेद गर्न पाइदैन भन्ने संविधानको व्यवस्था हो। त्यो व्यवस्था पालना गर्न सरकार प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने। उनले संविधानमा उल्लेख मौलिक अधिकारको पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए।
दलित सम्मेलनले उठाएका महत्वपूर्ण विषय सम्बोधन गर्दै जाने उनको भनाइ थियो। दिमागमा रहेको जातीय विभेद हटाउन सबै लाग्नु पर्ने भन्दै मन्त्री खाँणले जातीय, धार्मिक र सांस्कृतिक रूपमा सबै समान रहेको बताए।
जातका आधारमा नागरिकता दिन कही कतै आनाकानी गरिएमा त्यसबारे मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई जानकारी गराउन पनि उनले आग्रह गरे।
गृहमन्त्री खाणले शव त्रिभुवन शिक्षण अस्पतामा राखिएका काभ्रेका अजित मिजारको दाहसंस्कार गर्न राहत उपलब्ध गराउने बताए। सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा र सहअस्तित्व निर्माण भएको उनको भनाइ थियो।
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले दलित र गरिब भएका कारण राज्यबाट पाउने सेवा सुविधा पाउन कोही पनि बञ्चित नहुने बताए।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी संविधान, ऐन, नियम र कानुन कार्यान्वयनमा सधै प्रतिबद्ध रहेको बताए। उनले दलितले उठाएका मुद्दामा प्रहरी संवेदनशील रहेकोसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।