काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पछिल्लो समय विवादमा तानिएका छन्। सर्वोच्च अदालतकै १५ न्यायाधीश, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएन र पूर्वप्रधानन्यायाधीशहरुले राणाले राजीनामा दिन सुझाएका छन्। तर, राणा अहिलेकै अवस्थामा राजीनामा नदिने मूडमा छन्।
यता, कानुन व्यवसायीहरुले पनि राणाले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने बताएका छन्।
मंगलबार नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटक पटक मौका दिँदा पनि नसुध्रिएको टिप्पणी गरे।
न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ। न्यायालयमा अहिलेको जस्तो विकृति, भ्रष्टाचार र अनियमितता यसअघि कहिल्यै नभएको आचार्यले टिप्पणी गरे।
प्रधानन्यायाधीशले न्यायालयमा गुटबन्दी गर्ने, स्वार्थका मुद्दा आफैंले हेर्ने लगायतका काम गरेको उनको भनाइ छ।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई ठीक ढंगले सञ्चालन गर्न नसकेको बताए। उनले प्रधानन्यायाधीश राजनीतिक दल र दलको नेताको भूमिकामा गई कार्यकारी पदमा भाग खोज्ने र नियुक्त गर्न थालेकोले दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने भनी प्रश्न गरे।
मानव अधिकारकर्मी मोहना अन्सारीले न्यायपालिकाको गरिमाको रक्षा गर्न नसक्ने नेतृत्वले बाटो खोलिदिनुपर्ने बताइन्। त्यस्तो नेतृत्वले बाटो खोल्नु उसको दायित्व भएको पनि उनको भनाइ छ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले मन्त्री बार्गेनिङ गरेर फैसला गर्न प्रधानन्यायाधीशलाई ठाउँ दिने राजनीतिक दल र नेताहरूमाथि पनि प्रश्न उठाउनुपर्ने धारणा राखे।
त्यसैगरी, छलफलमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा किन आवश्यक छ भन्ने सम्बन्धमा स्पष्ट पार्न नेपाल बार एसोसिएसनले श्वेतपत्र जारी गर्नुपर्ने बताए।
महासंघका पूर्वअध्यक्ष दाहालले संसदमा छलफल हुनुपर्ने र संसदलाई चलाउनु पर्नेमा जोड दिए। संसद्लाई सञ्चालन गर्नका लागि सभामुखको भूमिका प्रमुख रहेको उल्लेख गर्दै उनले सभामुख र प्रतिपक्षको सम्बन्ध सुधारका निम्ति पत्रकार महासंघ, नागरिक समाज लगायतले समेत भूमिका खेल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।