काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेका छन्।
सर्वोच्चका १५ जना न्यायाधीशहरूको संयुक्त छलफलले राणाले राजीनामा दिनुको विकल्प नरहेको निष्कर्ष समेत निकालेका छन्।
मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा गर्न सुझाएका उनीहरू त्यसपछि बेग्लै छलफलमा जुटेका थिए। उनीहरूले भोलि बिहान साढे ११ बजे फेरि छलफल गर्ने निर्णय गरेका छन्।
आइतबार चिया विश्रामपछि इजलासमा नबसेका न्यायाधीशहरूले सोमबार र मंगलबार पनि इजलास 'बहिष्कार' गरेका छन्। उनीहरूले प्रधानन्यायाधीश राणामाथि राजीनामाको दबाब बढाइरहेका छन्।
तर, न्यायाधीशहरूसँगको छलफलमा भने राणाले राजीनामा नदिने अडान सुनाएका छन्। उनले विवादमा अरु न्यायाधीश पनि तानिएको र उनीहरूले समेत राजीनामा दिने भए आफू तयार रहेको तर एक्लै नदिने अडान सुनाए।
नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले पनि प्रधानन्यायाधीश राणाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। मन्त्रिपरिषद्मा भाग मागेकोलगायतका विषयले प्रधानन्यायाधीश जबरा पछिल्लो समय विवादमा तानिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।