काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको छलफलपछि सर्वोच्च अदालतका न्यायाधीशहरु बेग्लै छलफलमा जुटेका छन्।
न्यायाधीहरु बेग्लै छलफलमा जुटेपछि दोस्रो दिन पनि सुनुवाइ प्रभावित भएको छ। मुद्दाका पक्ष सुनुवाइको आसामा भएपनि इजलास सुरु हुन नसकेको हो।
विवाद र सहकर्मी न्यायाधीशहरुको इजलास बहिष्कारकैबीच प्रधानन्यायाधीश राणाले मंगलबार पनि पेसी तोकेका थिए।
राणाले आफू बाहेक आठ वटा इजलास गठन गर्दै पेसी तोकेका छन्। राणाले ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन्। सोमबार पनि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो। तर, सोमबार कुनै पनि इजलास बसेन। इजलास तोकिएका सबै न्यायाधीशले इजलास बहिष्कार गरेका थिए।
मंगलबार न्यायाधीश दिपककुमार कार्की र सुष्मालता माथेमा, मीरा खड्का र हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँल, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह, टंकबहादुर मोक्तान र मनोजकुमार शर्मा तथा प्रकाशकुमार ढुङ्गाना र कुमार चुडाल रहेको संयुक्त इजलास तोकिएको छ।
यस्तै, न्यायाधीश नहुल सुवेदीको एकल इजला तोकिएको छ। प्रधानन्यायाधीश राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार पनि चिया समयपछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए।
सर्वोच्चका १५ जना न्यायाधीशहरूकले आज प्रधानन्यायाधीश राणासँग भेट गरेका छन्। भेटमा उनीहरुले प्रधानन्यायाधीश राणालाई राजीनामा गर्न सुझाव दिएका थिए। तर, राणाले भने राजीनामा नदिने जवाफ दिएका छन्। 'विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ। विवादमा आएका सबैले दिने हो भने म तयार छु। होइन भने म राजीनामा दिन्नँ। सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्यायलय बच्दैन', उनले भने।
मन्त्रिपरिषद् विस्तारका क्रममा भागबण्डा खोजेको विषयले प्रधान्यायाधीश राणा थप अप्ठेरोमा पर्दै गएका छन्। सर्वोच्च अदालतका १९ जना न्यायाधीशमध्ये १५ जना न्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा छन्।
सोमबार १३ जना न्यायाधीशहरु अलग्गै छलफलमा जुटेपछि प्रधानन्यायाधीश राणाले बोलाएको नेपाल बार एसोसिएशनसहितको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्न सकेको थिएन।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ भने सर्वोच्च अदालत बार एसोसिएशनको बैठकले पनि राणाले पदबाट 'तत्काल राजीनामा' दिनुपर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।