काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको छलफलपछि सर्वोच्च अदालतका न्यायाधीशहरु बेग्लै छलफलमा जुटेका छन्।
प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेटेका उनीहरू भेटपछि सर्वोच्च अदालतमै अलग्लै छलफलमा जुटेका हुन्। सोमबार 'इजलास बहिस्कार गरेर' छलफल गरेका न्यायाधीशहरुले मंगलबार बिहान प्रधानन्यायाधीश राणालाई भेटेका थिए।
मंगलबार सामूहिक छलफलमा १५ जना न्यायाधीश सहभागी छन्।
प्रधानन्यायाधीश राणालाई भेटेरै 'राजीनामा माग्ने' समझदारी न्यायाधीशहरुको हिजोको छलफलमा जुटेको थियो। तर, आज प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच के छलफल भयो भन्ने सार्वजनिक गरिएको छैन।
मन्त्रिपरिषद् विस्तारका क्रममा भागबण्डा खोजेको विषयले प्रधान्यायाधीश राणा थप अप्ठेरोमा पर्दै गएका छन्। सर्वोच्च अदालतका १९ जना न्यायाधीशमध्ये १५ जना न्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा छन्।
सोमबार १३ जना न्यायाधीशहरु अलग्गै छलफलमा जुटेपछि प्रधानन्यायाधीश राणाले बोलाएको नेपाल बार एसोसिएशनसहितको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्न सकेको थिएन।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ भने सर्वोच्च अदालत बार एसोसिएशनको बैठकले पनि राणाले पदबाट 'तत्काल राजीनामा' दिनुपर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।