काठडमाडौं– कात्तिक ४ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सामलिङ पावर कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ६५ हजार ६९८ जनाले आवेदन दिएका छन्।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदकहरुबाट सोमवार साँझ ५ बजेसम्म २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताको लागि आवेदन परेको हो। जुन आवेदन मागभन्दा ३९ दशमलव ६७ गुणा बढी हो।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ७ करोड ३० लाख बराबर रुपैयाँको ७ लाख ३० हजार कित्ता सेयरमध्य २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो।
यो सेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम संकेत गर्ने इक्राएनपी आईआर डबल बी माईनस रेटिङ प्रदान गरेको छ।
सर्वसाधारणलाई आईपीओ जारी गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई ५ करोड रुपैयाँबराबरको ५ लाख कित्ता सेयर वितरण गरिसकेको छ।
कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखि नै व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।