काठमाडौं- कोलम्बियाले पक्राउ गरेको एक कुख्यात लागुऔषध कारोबारी अमेरिकालाई सुपुर्दुगी गर्ने भएको छ।
लागुऔषध तस्कर समूहका नेता ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई कानुनी प्रक्रिया पूरा गरेर अमेरिकालाई हस्तान्तरण गर्न लागिएको रक्षामन्त्री डिएगो मोलानोले जानकारी दिएका हुन्।
उनका अनुसार ओन्टोनिललाई अमेरिका पठाउने प्रक्रिया थालिएको छ। हाल ओन्टोनिल राजधानी बोगटामा रहेको सैनिक बेसक्याम्पमा छन्।
५० वर्षीय ओन्टोनिललाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस्तीबाट गत शनिबार पक्राउ गरिएको थियो।
ओन्टोनिलमाथि ठूलो परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेकोलगायत आरोप छन्।
कोलम्बिया सरकारले ओन्टोनिलका बारेमा जानकारी दिनेलाई ८ लाख अमेरिकी डलर बराबरको पुरस्कारको घोषणा गरेको थियो। यस्तै, अमेरिकाले ओन्टोनिलका लागि ५० लाख अमेरिकी डलर बराबरको पुरस्कार दिने बताएको थियो।
ओन्टोनिलले सन् २००३ देखि २०१४ सम्म कम्तीमा ७३ मेट्रिक्टन लागुऔषध आफ्नो आयात गरेको आरोप अमेरिकाले लगाएको छ।
ओन्टोनिललाई हवाई सैनिक र प्रहरीको सयुक्त अप्रेशनमार्फत् पक्राउ गरिएको थियो। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य र २२ वटा हेलिकप्टर परिचालन गरिएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।