काठमाडौं– सर्वोच्च अदालतका ४ जना पूर्वप्रधानन्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा दिनुपर्ने बताएका छन्।
मन्त्रिपरिषद्मा समेत भागबण्डा खोजेको विषय सार्वजनिक भएपछि आलोचनाको केन्द्रमा रहेका प्रधानन्यायाधीश राणाको उनकै सहकर्मी न्यायाधीशले समेत राजीनामा माग गरेका छन्।
यसैबीच ४ जना पूर्वप्रधानन्यायाधीशहरू मीनबहादु रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै राणाले राजीनामा दिनुपर्ने बताएका छन्।
‘प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनिकरण गर्न सघाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास छ । विगतमा पनि विभिन्न अवसरमा मुद्दामा न्यायिक विचलन वा अस्वीकार्य गतिविधिको जनविश्वास गुमाएको भन्ने अवस्थामा सम्बन्धित न्यायाधीशहरुले नै गर्नु भएको स्वेच्छिक अवकासको निर्णयबाट विवादहरुको पटाक्षेप भएको अनुभव न्यायपालिकासँग छ,’ पूर्वप्रधानन्यायाधीशहरूको विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशले कुनै कारणले जनविश्वास गुमाउँछ भने न्यायको लागि बचाउनेका केही रहन्न भन्ने कुरा बुझ्नु आवश्यक छ । न्यायपालिकाको समक्ष उपस्थित चूनौतिहरुको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थ भन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्दछौं।’
नेपालको न्यायपालिकाको इतिहासमा नै अभूतपूर्व चिन्ताजनक वातावरण पैदा भएको भन्दै उनीहरुले अहिले उत्पन्न परस्थितिको अविलम्ब पटाक्षेप हुनुपर्ने बताएका छन्।
‘न्यायिक प्रक्रिया नै सुचारु हुन नसक्ने गरी सहकर्मीहरु बीचको विश्वास भत्कन दिनु, न्यायिक प्रक्रिया आफ्नो प्रकृति अनुरुप सुचारु राख्न कोशिस नहुनु, आफ्नो छविको कारण समग्र न्यायपालिकाले नै अपारदर्शी र अविश्वसनीयताको भार बोक्नुपर्ने परिस्थिति यथावत रहन नदिने हो र त्यसको स्वीकार्य समाधान अविलम्ब खोज्ने हो भने न्यायपालिका, कानून प्रणाली, प्रजातन्त्र र राष्ट्रको लागि वर्तमान नेतृत्वले जो चाहिने त्याग गरेर भए पनि मार्ग प्रसस्त गर्नुपर्ने हुन्छ,’ ४ पूर्वप्रधानन्यायाधीशले विज्ञप्तिमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।