काठमाडौं– देशका ७ प्रदेशमध्ये ५ प्रदेशको नामाकरण भइसकेको छ। पछिल्लोपटक प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गरिएको थियो। तर, संघीय संसद् सचिवालयले भने प्रदेशको नामाकरण भएको पत्तो नै नपाएको देखिएको छ।
राष्ट्रिय सभाका सदस्यबाट कार्यकाल सकिन लागेका २० सांसदको सूची प्रकाशित गर्ने क्रममा संसद् सचिवालयले प्रदेशहरुको नाम नै उल्लेख नगरी क्रमांक (प्रदेश नम्बर) उल्लेख गरेको छ। संसद् सचिवालयले प्रदेशको नामाकरण हुनुअघि प्रचलित क्रमांक राखेर सांसदको सूची निकालेको हो।
प्रदेशको नामाकरण हुनुअघि पूर्वदेखि सुदूरपश्चिमसम्मलाई क्रमशः १ देखि ७ सम्म नामाकरण गरिएको थियो। संसद् सचिवालयले वितरण गरेका डकुमेन्टमा प्रदेशका नामअनुसार नभएको भन्दै केही महिना अघि राष्ट्रिय सभाका सांसद डा खीमलाल देवकोटाले आपत्ति समेत जनाएका थिए।
हालसम्म प्रदेश १ र २ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ। प्रदेश १ र २ बाहेकका प्रदेशबाट निर्वाचित सांसदको नामलाई प्रदेशको नामाकरण अनुसार उल्लेख गरिएको छैन।
२०७५ असार ४ गते भएको गोलाप्रथा अनुसार ४ वर्षे कार्यकाल कायम भएका २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गतेसम्म मात्रै कायम हुनेछ। २० जना सांसदको नामावली प्रकाशित गर्दा संघीय संसद सचिवालयले उनीहरु निर्वाचित भएको प्रदेशको नाम नलेखी क्रमांक (१,२,३...) लेखेको छ।
प्रदेश १ बाट अगमप्रसाद वान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ गरी तीन जनाको पद रिक्त हुने भएको छ। प्रदेश २ बाट शशीकला दाहाल र सुमनराज प्याकुरेलको कार्यावधि सकिन लागेको छ।
बागमतीमा उदया शर्मा पौडेल, राधेश्याम अधिवकारीको कार्यकाल सकिन लागेको हो। गण्डकीमा खिमकुमार विक, दीनानाथ शर्मा र शान्तीकुमारी अधिकारीको पद रिक्त हुने भएको छ। लुम्बिनीमा कोमल वली, दृगनारायण पाण्डेय र रामलेखन चमारको पदावधि सकिन लागेको छ।
कर्णालीमा कविता बोगटी, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी तथा सुदूरपश्चिमबाट निर्वाचित चक्रप्रसाद स्नेही, तारादेवी भट्ट र शेरबहादुर कुवँरको कार्यकाल सकिन लागेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीको पद पनि रिक्त हुँदैछ।
अवधि सकिन लागेका सांसदहरुमा एमालेका सबैभन्दा बढी छन्। सुमनराज प्याकुरेल, कोमल वली, नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगमप्रसाद वान्तावा, कविता बोगटी, चक्रप्रसाद स्नेही र रामलखन चमार एमालेका सांसद हुन्।
माओवादी केन्द्रका शशीकला दाहाल, दीनानाथ शर्मा, खिमकुमार विक र जीवन बुढाको कार्यावधि सकिन लागेको छ। दाहाल राष्ट्रिय सभाको उपाध्यक्ष पनि हुन्। शर्मा माओवादी केन्द्रबाट दलको नेता छन्।
नवगठित एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुवँर, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी र ठगेन्द्र प्रकाश पुरीको कार्यकाल सकिन लागेको छ।
नेपाली कांग्रेसबाट राधेश्याम अधिकारी, दृगनारायण पाण्डे र तारादेवी भट्टको कार्यअवधि सकिन लागेको छ। अधिकारी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।