काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट 'तत्काल राजीनामा' दिनुपर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको सर्वोच्च बारको कार्यसमिति बैठकको निर्णयमा प्रधानन्यायाधीश राणाले 'राजीनामा दिनुपर्ने' भन्ने शब्द उल्लेख छैन। सर्वोच्च बारको बैठकको निर्णयमा प्रधानन्यायाधीशले 'समुचित निकास दिनुपर्ने' शब्द उल्लेख छ।
'समुचित निकास दिनुपर्ने' भन्ने शब्दको अर्थ तत्काल राजीनामा दिनुपर्ने भएको सर्वोच्च बारका एक पदाधिकारीले जानकारी दिए।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले सोमबारको बैठकले गरेका निर्णयको सन्दर्भमा विज्ञप्ति जारी गरेर थप प्रस्ट पारिने बताए।
मन्त्रिपरिषद् विस्तारका क्रममा भागबण्डा खोजेको विषयले प्रधान्यायाधीश राणा थप अप्ठेरोमा पर्दै गएका छन्। सर्वोच्च अदालतका २१ जना न्यायाधीशमध्ये १४ जना न्यायाधीश पनि उनले राजीनामा दिनुपर्ने पक्षमा छन्।
सोमबार 'इजलास बहिस्कार गरेर' छुट्टै छलफलमा जुटेका १३ जना न्यायाधीशहरुबीच मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेरै 'राजीनामा माग्ने' समझदारी जुटेको छ।
सोमबार १३ जना न्यायाधीशहरु अलग्गै छलफलमा जुटेपछि प्रधानन्यायाधीश राणाले बोलाएको नेपाल बार एसोसिएशनसहितको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।