काठमाडौं- हङकङमा पत्रकारिता गर्दै आएका किसन राईको भिरबाट लडेर मृत्यु भएको छ।
धरान उपमहानगरपालिका–१५ घर भई हाल हङकङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय राईको आइतबार साँझ पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।
उनी घुम्नका लागि खोटाङ पुगेका थिए। ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेका राईको उपचारका क्रममा मृत्यु भएको परिवारका आफन्तले जनाएका छन्।
यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।
हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ।
पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।