काठमाडौं– पाँचथरको फिदिम नगरपालिका-४ सखरखण्डेमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा सेनाको एमआई१७ हेलिकोप्टर पठाइएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए।
सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ छुटेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन्।
दुर्घटनामा बसमा सवार लेटाङ नगरपालिका ६ मोरङका ७ वर्षीय प्रज्ज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ वर्षीया प्रमिला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ११ जनालाई थप उपचारको लागि झापा पठाएको तथा अन्य घाइतेहरुको फिदिमका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।