काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सम्बन्धित विवादले अहिले न्यायालय बहसको केन्द्रमा छ। जताततै उनको राजीनामाको विषय उठिरहेको छ। नभए, प्रतिनिधि सभाले महाभियोग लगाउनुपर्ने आवाज पनि उठिरहेको छ।
आइतबार र सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास 'बहिस्कार' नै गरेका छन्। साथै, उनीहरुले राणालाई भेटेरै राजीनामा दिन आग्रह गर्ने निष्कर्ष पनि निकालेका छन्। सोमबार ११ बजेपछि बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने भन्दै एक कदम अघि बढ्ने स्पष्ट पारेका छन्।
यसले प्रधानन्यायाधीशको बहिर्गमन थप अपेक्षित बनेको छ। प्रधानन्यायाधीशले बोलाएको फुटकोर्टको बैठक बहिस्कार गर्ने निर्णय उनीहरुले आइतबारै गरिसकेका थिए।
अघिल्लो सरकारकै पालादेखि भागबण्डामा जोडिएका प्रधानन्यायाधीश राणाले केही हप्ताअघि मन्त्रिपरिषद्मा पनि भागबण्डा खोजेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि भने उनी न्यायालयको निष्पक्षता र स्वतन्त्रता कायम राख्न असफल भएको भन्दै उनले आफूलाई न्यायालयबाट अलग गर्नुपर्ने आवाज तीव्र भएको थियो।
तर, राज्यको तीन अंगमध्ये एक अंगमा भइरहेको उथलपुथलका सन्दर्भमा दलहरु मौन देखिएका छन्। उनीहरुले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यस सन्दर्भमा हामीले प्रमुख तीन पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको प्रतिक्रिया लिएका छौं-
प्रदीप ज्ञवाली, सचिव, नेकपा एमाले
अहिले न्यायालयमा देखा परेको विवाद र कचिंगल दुःखद् छ। स्वतन्त्र न्यायापालिकामाथि यस्तो स्थिति सिर्जना हुनु आफैंमा एकदम बिडम्बनापूर्ण हो। यो स्थिति सिर्जना हुनुको मुख्य कारण असार २८ गतेको सर्वोच्च अदालतको परमादेश हो। त्यो परमादेश सिर्जना गर्नका लागि कतिपय राजनीतिक दल र न्यायालयकोबीचमा जुन एकखालको अपवित्र गठबन्धन जस्तो बन्न पुग्यो। यो विकृतिको स्रोत र आजका समस्याहरुको मूल जग त्यहाँनेर छ। समस्याको समाधान त्यहीँबाट खोज्नुपर्छ। अहिले मुख्य कारणहरुलाई पन्छाएर प्रधानन्यायाधीश एकजना व्यक्तिलाई दोषी सावित गरेर अहिलेको समस्याको समाधान हुँदैन।
अहिले देखापरेको विकृतिहरुको समग्र समाधानचाहिँ न्यायालयको समग्र सुधारबाट मात्रै सम्भव छ। तर, अहिले कस्तो देखिँदै छ भने, एकजना व्यक्तिलाई सबै दोषको भारी बोकाएर निश्चित राजनीतिक पार्टी, निश्चित वकिलहरु र निश्चित स्वार्थ समूहले खोजे अनुरुपको न्यायालय बनाउने हिसाबले अहिलेको बहस केन्द्रित भयो। समाधान खोज्ने हो भने त पाँचैजना न्यायाधीशले त्यसको जिम्मेवारी लिनुपर्यो नि त। उहाँहरु पनि त्यसबाट त चोखो हुनुहुन्न। त्यसरी बहस नभएर एकजना व्यक्तिलाई दोषी देखाएर आफू अनुकूलको न्यायालय बनाउने प्रपञ्च भइरहेको छ। त्यसमा नेकपा एमालेको असहमति छ। यो ढंगले समस्या समाधान हुँदैन।
मीन विश्वकर्मा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
राज्यका प्रमुख अंगका प्रमुखहरुका बारेमा संविधानले नै बोल्छ। सामाजिक सञ्जाल, पत्रपत्रिका वा व्यक्तिगत अभिव्यक्तिलाई लिएर दलहरुले धारणा बनाउनु हतार हुन्छ। बाहिर आएका धारणा मार्फत नै निष्कर्ष निकाल्नु हुँदैन।
न्यायालयको विषयलाई दलहरुले मिहिन ढंगले हेरिरहेका छन्। दलहरुले प्रतिक्रिया दिनु भनेको निष्कर्ष दिनु पनि हो। तसर्थ, दलहरुले धारणा दिएर निष्कर्ष निकालिहाल्नु राम्रो हुँदैन।
पार्टीले धारणा निकाल्नेभन्दा पनि वर्तमान सरकार गठबन्धनको भएकाले उसले निष्कर्ष र निर्णय दिनुपर्ने हुन्छ। गठबन्धनले दिएको निर्णय संविधानसँग जोडिएको हुन्छ। न्यायालयको कुरा राजनीतिक विषय होइन। विधि र नैतिक विषय हो। दलहरुले धारणा दिन हतार नगरेकै राम्रो हुन्छ।
देवप्रसाद गुरुङ, प्रमुख सचेतक, नेकपा माओवादी केन्द्र
न्यालयभित्रको विषयमा न्यायालयभित्रकै प्रक्रियाबाट समाधानमा पुग्नु उपयुक्त हुन्छ जस्तो लाग्छ। न्यायालयका विषयमा प्रश्नहरु उठेका छन्। त्यसमा न्यायालयबाटै समाधान खोज्नु राम्रो हुने छ। न्यायालयको स्वच्छता, स्वतन्त्रता र मर्यादा कायम राख्न शक्ति पृथकीकरणको सिद्धान्त अनुसार स्वतन्त्र ढंगले निर्णय गर्न दिनु पर्छ। त्यहाँ उठेका विषयमा त्यहाँकै प्रक्रियाबाट समाधान खोज्दा राम्रो हुन्छ।
प्रधानन्यायाधीशका विषयमा जे जस्ता विषयहरु उठेका छन्। उहाँले नै उपयुक्त निकास दिनुहोला भन्नेमा आशावादी छौं।
दलहरुकहाँ यो विषय पुग्ने भनेको संसद्को कार्यसूची बन्यो भने मात्रै हो। अहिले संसद्को विषय बनेको छैन। अहिले न्यायालयको परिधिभित्र कानुन व्यवसायी, पूर्वन्यायाधीशहरु र सर्वोच्च अदालतकै न्यायाधीशभित्रै बहस भइरहेको छ। त्यहीँ छलफल चलिरहेको छ। त्यहीँबाट समाधानमा पुग्ने छ भन्नेमा आशावादी छौ। त्यहाँबाट समाधानमा निस्किएन र समस्या लम्बेतान भएर गयो भने सदन आकर्षित होला। अहिले नै संसद्को विषय बन्यो भन्ने लाग्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।