काठमाडौं– धनुषा र सर्लाहीका प्रहरी उपरीक्षक (एसपी)को जिम्मेवारी खोसिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाट र सर्लाहीका एसपी सन्तोषसिंह राठौरको जिम्मेवारी खोसिएको हो।
प्रहरी प्रधान कार्यालयले शनिबार उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो। उनीहरुलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। रानाभाटको ठाउँ धनुषामा प्रहरी प्रधान कार्यालयको कानुन शाखामा कार्यरत एसपी वसन्त रजौरेलाई पठाइएको छ।
सर्लाहीमा भने प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा कार्यरत एसपी कृष्ण प्रसाइँलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दियो।
रानाभाटलाई प्रहरी प्रधान कार्यालय अन्तर्तगतको कार्य विभाग र राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिएको छ।
एसपी रानाभाटले लागूऔषध मुद्दामा गत फागुनमा पक्राउ परेका आरोपीहरुको मिसिल मिलेमतोमा कमजोर बनाएको आरोप लागेको थियो। उनीमाथि अनुसन्धान गरेर कारबाही गर्न भन्दै महान्यायाधीवक्ता कार्यालयले समेत प्रहरीलाई पत्राचार गरेको थियो। उनीमाथि छानबिन सुरु भएको प्रहरी प्रधान कार्यालयले बताए पनि छानबिनको रिपोर्ट भने सार्वजनिक गरेको थिएन।
त्यसैगरी, सर्लाहीका एसपी राठौरले दशैंमा तास खेल्दै गरेको भिडिओ सार्वजनिक भएपछि उनी पनि विवादमा तानिएका थिए। जुवातास नियन्त्रण गनुपर्ने निकायका प्रमुख नै जुवातास खेल्दै गरेको भिडिओ सार्वजनिक भएपछि उनलाई पनि जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
रानाभाटले गत पुस २१ गते मात्रै धनुषा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।