काठमाडौं- न्यायालयमा पछिल्लोपटक एकपछि अर्को विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दशैंको शुभकामना भन्दै चारजना पूर्वप्रधानन्यायाधीशहरुको घरमा पुगे।
प्रधानन्यायाधीश राणा पूर्वप्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीको घरमा पुगेका थिए।
यसअघि प्रधानन्यायाधीश राणा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले असोज १५ गते पूर्वप्रधानन्यायाधीशहरु विरुद्ध परेको अदालतको अवहेलना मुद्दा खारेज गरेको थियो। उक्त मुद्दामा सफाइ दिएलगत्तै राणाले चारजना पूर्वन्यायाधीशलाई उनीहरुको निवासमै पुगेर भेटेका थिए। आफू तीब्र विवादमा परेको समयमा राणाले उनीहरुलाई भेटेका हुन्।
न्यायाधीश सुशीला कार्कीको घरमा राणा १६ गते पुगेका थिए। दशैं विदा अदालतमा २१ गतेदेखि लागू हुँदै थियो । उनले कार्कीलाई भेटेर दशैंको शुभकामना भनेका थिए। असोज २६ गते पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको घर गएका थिए।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको घरमा उनी दशैंको अघिल्लो दिन पुगेका थिए। शर्माका अनुसार प्रधानन्यायाधीश राणा पहिलोपटक यसरी शुभकामना दिन भन्दै आएका थिए।
‘म त केही अघिदेखि बिरामी थिएँ। अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको थिएँ, शुभकामना दिन भन्दै आउनुभयो,’ उनले भने, ‘अरू विषयमा कुरा भएन।’
उनी पूर्वप्रधानन्यायाधीश रायमाझीको घरमा पनि पुगेका थिए। न्यायसेवामा रहँदा अदालतभित्र आँटिला न्यायमूर्तिको छबि बनाएका र पछिल्लोपटक प्रतिनिधि सभा विघटनविरुद्ध खरो उत्रेका चार पूर्वप्रधानन्यायाधीशलाई भेटेर राणाले शुभकामना मात्र दिए पनि साथ खोजेको बुझ्न सकिन्थ्यो। उनले एक न्यायाधीशलाई साथमै लिएर आएको एक पूर्वप्रधानन्यायाधीशले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।