काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावललाई कार्यदलबाट राजीनामा नदिन आग्रह गरे पनि उनले अस्वीकार गरेको एक नेताले बताएका छन्।
यसअघि माधवकुमार नेपालपक्षमा रहेका नेताहरुले रावललाई राजीनामा नदिन आग्रह गरेका थिए। तर, रावलले उनीहरुको कुरा सुनेनन्।
अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै उनले स्थायी कमिटी बैठकमै कार्यदलको संयोजक र सदस्यसमेत नरहने गरी राजीनामा दिने घोषणा गरे। बैठकमा राजीनामा घोषणा गरेका उनले भोलि लिखित राजीनामा दिने बताएका छन्।
'भीम रावलजीलाई राजीनामा नदिनुस् भन्दाभन्दै राजीनामा घोषणा गर्नुभयो,' ती नेताले भने। एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि रावल संयोजक रहेको कार्यदल बनेको थियो।
रावलले आज पार्टीको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने कुरा उठाएका थिए। तर, अध्यक्ष ओलीले १० बुँदेको कार्यान्वयनको आवश्यकता नभएको बताएपछि रावलले राजीनामा दिने घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।