काठमाडौं– हलिउड फिल्म ‘रस्ट’को छायांकनको क्रममा अभिनेताले चलाएको बन्दुकको गोली लागेर सिनेम्याटोग्राफरको मृत्यु भएको छ।
हलिउड अभिनेता एलेक बाल्डविनले छायांकनका क्रममा प्रप गन (छायांकनमा प्रयोग हुने बन्दुक, जुन असली भएपनि गोली नक्कली राखिएको हुन्छ) बाट गोली चलाएका थिए। उक्त बन्दुकबाट चलेको गोली लागेर सिनेम्याटोग्राफर हलिना हचिन्सको मृत्यु भएको छ।
सिनेमाको सेटमा प्रयोग हुने बन्दुक असली भएपनि यसमा गोली नक्कली प्रयोग भएको हुन्छ। असली गोलीको सट्टा यसमा ब्ल्याक कार्टरिज भरिएको हुन्छ।
न्यूमेक्सिकोको बोनान्जा क्रीक रेन्जमा भइरहेको छायांकनमा यो घटना घटेको हो। अभिनेता बाल्डविनले बन्दुक चलाउँदा केही समस्या हुँदा सिनेम्याटोग्राफरको मृत्यु भएको बताइएको छ। घटना हुने बित्तिकै अस्पताल पुर्याइएकी हलिनाको उपचारको क्रममा मृत्यु भएको छ।
उक्त घटनाबाट फिल्मका लेखक तथा निर्देशक जोएल सूजा पनि गम्भीर घाइते भएका छन्। सुजालाई हाल अस्पतालमा उपचार गराइँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।